सोमालियामा सैन्य कारबाहीमा परी ५० लडाकु मारिए
सोमालियाको आतंककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाका मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन्।
मोगादिसु, असाेज २७ : सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन्।
सोमालियाको आतंककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाका मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन्।
मध्य सोमालियाको यासुमा गाउँमा सो आतंककारी समूह अल सेबाबका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन्। सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका बताइएको छ। सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो कुराको जानकारी दिएका हुन्।
उपप्रमुख युसुफले भने, ‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकुको ज्यान गएको छ। त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ।’ सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्धमा कारबाही जारी राख्ने जनाएको छ।
सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा यहाँको सेनाले केही महिना यतादेखि अल सेबाबका विरुद्धमा कारबाही थालेको हो।सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ।
सोमालियामा पछिल्ला केही महियना यता यहाँको आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्धमा आक्रमण गरी हत्या गर्ने गरेका छन्।




-1744698085.png)







