Kathmandu Press

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति

कालिकाेट, असाेज २६ : कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ।

सयौँ घरपरिवारलाई विस्थापित बनाएको छ। जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पूर्णरूपमा क्षति भएको र १२ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

Hardik ivf

दुई सय चार घरधुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए। असोज १९ गतेदेखि आएको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको उनले बताए। पहिरोले नगरपालिकामा दुई सय ५० घरमा क्षति पुगेको उनको भनाइ छ।

रास्कोट नगरपालिका–१ को न्यौपानेवाडा, वडा नं ३ को साकाटिया, वडा नं ९ को थोल्ममा पहिराले एक सय पाँच, खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

सान्नी त्रिवेणी गाउँपालिका–७ मा दुई वटा घर भत्किएर पूर्ण क्षति भएको र दुई सय घरको खलो, आँगनदेखि जमिनसमेत बगाएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। उनका अनुसार पहिराले दुई सय घरमा क्षति पुगेको छ।

पचालझरना गाउँपालिकामा दुई सय, पलाँता गाउँपालिकामा तीन सय  ५०, शुभकालिका गाउँपालिकामा ५५, महावै गाउँपालिकामा ७० र नरहरिनाथ गाउँपालिकामा ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। 'अहिले पनि बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ,' उनले भने, 'अबको केही दिनमा सबै तथ्याङ्क आउँछ।'

जिल्लामा विभिन्न ठाउँको पहिरोेमा परेर पाँच जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन्। सयौँ घरपरिवार विस्थापित भएका छन्।

प्रकाशित मिति: १९:०७ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्