पहिरोले जोखिममा स्वास्थ्यचौकी

बागलुङ, असोज २४ : निरन्तरको वर्षाका कारण पहिरो जाँदा बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ ।
स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो ।
निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिए।
बागलुङ नगरपालिकाबाट लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीबाट दुई वर्षअघि पहिरो खसेको थियो । निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकीसम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी जोखिममा रहेको कार्कीको भनाइ छ ।
भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकी नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्वास्थ्यचौकीको पहिराले बागलुङ बजारबाट सिगाना हुँदै लामीचौर जाने सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको हो ।












