Kathmandu Press

रातभर जाग्राम बसेर बडादसैँको बिदाइ

रातभर जाग्राम बसेर बडादसैँको बिदाइ

काठमाडौं, असोज २४ : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन्।

नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ।

शास्त्रानुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम  शनिबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गापक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ।

 

प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, असोज २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्