पोखरा औद्योगिक व्यापार मेला तयारीका लागि उपसमिति गठन
कास्की, असोज २२ : पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला २०७९ लाई लक्षित गरी कार्यासम्पादन तथा विभिन्न उपसमिति गठन गरेको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यका साथ आगामी मंसीरको १६ देखि २५ गतेसम्म मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए।
कोभिड १९ का कारण यस अघि दुई संस्करणको मेला स्थगित भएकाले यसपटकको मेलालाई विशेष बनाइने उनले बताए।
पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने मेला सम्पन्न गर्न संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिसकिएको छ । सो समितिको अतिथि सत्कार व्यवस्थापन उप–समिति संयोजकको जिम्मेवारी संघका निवर्तमान अध्यक्ष नारायण कोइरालालाई दिइएको छ।
प्रदर्शनी निर्माण–व्यवस्थापन उपसमितिको संयोजक संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजक उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी तथा प्रायोजक व्यवस्थापन उपसमितिको संयोजकमा वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य रहेका छन् ।
त्यस्तै अन्य उपसमिति संयोजकमा प्रचार प्रसारतर्फ महासचिव बलराम आचार्य, आर्थिक व्यवस्थापनमा संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, सांस्कृतिकतर्फ उपमहासचिव शोभा गौतम, पर्यटनमा कार्यसमिति सदस्य प्रभा सुवेदी, बालउद्यानमा कार्यसमिति सदस्य बालकृष्ण कोइराला र प्रकाशन तथा उपहार व्यवस्थापनमा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्ग रहनुभएको महासचिव बलराम आचार्यले जानकारी दिए।
उनका अनुसार कार्यसमिति सदस्यहरू भरत केसी, दीलिपकुमार श्रेष्ठ, कृष्णप्रसाद कोइराला, भिम गौतम, माधव बस्ताकोटी र सुदीप ओझालाई क्रमशः स्वास्थ्य, मुलद्वार, खानेपानी तथा वातावरण, स्थानीय समन्वय तथा पार्किङ र टिकट व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ।
हस्तकला उपसमिति संयोजकमा बन्दना केसी कार्की, विद्युत तथा टेलिफोनमा रामप्रसाद कट्टेल, स्लल बिक्रीमा जीवनप्रकाश श्रेष्ठ, संघ–संस्था व्यवस्थापनमा प्रेमप्रसाद सुवेदी, मञ्च व्यवस्थापन तथा बस्तुगत संघ समन्वयमा लेखनाथ सुवेदी, कृषि व्यवस्थापनमा लिलाधर चपाईं र उद्योग व्यवस्थापन उपसमितिमा युवकबहादुर बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
पदाधिकारी तथा कार्यसमितिका सदस्य संयोजक रहेका समितिमा संयोजकले नै बाँकी सदस्य थप गर्ने महासचिव आचार्यले जानकारी दिए।