Kathmandu Press

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर

बागलुङ, असोज २२ ः निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ। 

निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र  गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ। 

पहिराले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिका समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीसमेत पहिराको जोखिममा परेको उहाँले जानकारी दिए।

‘पहिरोले बालविकास केन्द्र र शौचालय बगाएको छ, त्यो जोखिम ठाउँमा पनि थिएन, लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिराले बगाएको छ,’ अध्यक्ष बुढामगरले भने, ‘अब कक्षा सुरु हुने बेला भयो, बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो, पालिकामा पनि कुरा राख्छौँ ।’

उहाँका अनुसार पहिराले लालबहादुरको घर गोठ पुरिँदा रु १५ लाख भन्दाबढीको धनमाल क्षति भएको छ । पहिराले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चार गोरु, एउटा भैँसी, एउटा राँगो र छ वटा बाख्रासमेत पुरिएको अध्यक्ष बुढामगरको भनाइ थियो । पहिरो पीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताए । पहिरो आउने बेला आफूहरु बाहिर काम गरिरहेको हुँदा ज्यान बचाउन सफल भएको उनको भनाइ थियो । ‘पहिराले मेरो सबै धन सम्पत्ति बगायो, लत्ताकपडा, पशुचौपाय केही छैनन् सबै पु¥यो, अहिले त आफन्तकोमा बसेका छौँ,’ लालबहादुरले भने, ‘हामीमाथि त दैव लाग्यो, अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला।’

वर्षाले ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनाएको छ । यी सडक खुलाउन अझै केही दिनलाग्ने निसीखोला गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्