Kathmandu Press

मुस्ताङमा पहिरो, पर्यटक रोकिए

मुस्ताङमा पहिरो, पर्यटक रोकिए

मुस्ताङ, असाेज २१ : मंगलवारदेखि परेको निरन्तरको पानीले मुस्ताङमा पनि पहिरो गएको छ । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुंगा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा र बाढी पहिरोकै कारण सडक ठप्प हुनुका साथै हवाई उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

Hardik ivf

यसैबीच चार दिनदेखिको प्रतिकूल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाई उडानसमेत नहुँदा पर्यटक समस्यामा परेका छन् ।

खराब मौसमले गर्दा हवाई उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटक, पदयात्री, साइकालयात्री मुस्ताङमै रोकिएका प्रजिअ शर्माको भनाइ छ । बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिइएको उले बताए ।

वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको बैंसरी, नैनीबगर र रुप्से खोलामा सडकभन्दा माथिबाट पहिरो खसेर सडक बन्द भएको छ।  

यस्तै, पश्चिम म्याग्दी भेग भएर जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीर र बाङ्गेपहिरो भन्ने ठाउँमा पनि पहिरो खसेर सडक बन्द भएको छ । वर्षाले म्याग्दीका ग्रामीण क्षेत्रका सडकहरू पनि हिलाम्मे हुनुका साथै अस्तव्यस्त बनेका छन् ।

त्यस्तै अविरल वर्षासँगै म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक, गूर्जाखानीलगायत उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । मुस्ताङको मुक्तिनाथको डाँडाकाँडासहित धौलागिरि र निलगिरि रेन्ज तथा चौरीखर्क क्षेत्रमा हिउँ परिरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।

भारी वर्षासँगै हिमपात भएपछि मुस्ताङमा चिसो महसुस गरिएको छ । सडक बन्द हुँदा मुस्ताङको स्याउ, आलुलगायत कृषिजन्य उत्पादनहरू ढुवानी हुन पाएको छैन ।

प्रकाशित मिति: २१:०८ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्