सप्तरीमा थपिए ६ हजार मतदाता
अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका चार लाख १८ हजार तीन सय ७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरी, असाेज २१ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् ।
आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन् ।
अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका चार लाख १८ हजार तीन सय ७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये दुई लाख १७ हजार दुई सय ८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार चार सय ४५ मतदाता थिए । जस्मा महिला एक लाख ९८ हजार पाँच सय ३२, पुरुष दुई लाख १३ हजार आठ सय ९२ र २१ अन्य थिए ।
निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो ।
स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो ।
निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो ।
सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को राजविराज–७ स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नवनिर्मित भवनमा राखिएको छ ।
यसैगरी निवार्चन क्षेत्र नं १ को सर्वोदय मावि कञ्चनरूपमा, क्षेत्र नं ३ को शम्भुनाथ नगरपालिका–७ को कार्यालय कठौना र क्षेत्र नं ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।












