Kathmandu Press

कङ्कालिनी भगवती मन्दिरमा ६६९ राँगाको बलि चढाइयो

कङ्कालिनी भगवती मन्दिरमा ६६९ राँगाको बलि चढाइयो

सप्तरी, असोज १९ : सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ।  

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए।  

Hardik ivf

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी सरोज मण्डलको राँगाको बलि चढाइएको थियो। भारदह गाउँभरिबाट बलि प्रदानका लागि आएकाहरुबीच गोलाप्रथा लगाउने अनि जसको पहिलो  नम्बरमा आउँछ  उसैको पशुलाई पहिले  बलि दिइने गरिन्छ ।  

त्यसपछि बलि प्रदानको लागि विभिन्न जिल्ला तथा टिमेकी मुलुक भारतका विहार राज्यबाट आएका अन्य व्यक्तिको राँगालाई बलि दिइएको थियो । मङ्गलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।  

यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहरीमा खसीबोकाको  बलि दिएको थियो ।  आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो । साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो । 

कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका बन्द हुँदा त्यहाँका भक्तजन आउन नसकेको हुँदा  राँगा बलिमा कमी अएको बताइएको थियो  । 

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा आएका दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ ।

प्रकाशित मिति: १०:३७ बजे, बुधबार, असोज १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्