देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं : प्रहरीले देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेकाे छ।
प्रहरीले सिन्धुलीकाे कमलामाई नगरपालिका-६ शान्तिनगर चोकबाट लागूऔषधसहित
एक जनालाइ पक्राउ गरेकाे छ।
नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ८५ ट्याब्लेट, नाईट्राजेपाम १ सय ५० ट्याब्लेट, नाईट्रोसन १० ट्याब्लेट र केएलएबी लेखिएको १ बोतल झोल पदार्थसहित महोत्तरी बर्दिबास नगरपालिका-२ का ३० वर्षीय अजय कुमार झालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना.६ ख १५५५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। साथै बसका चालकलाईसमेत आवश्यक अनुसन्धानकालागि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, धनुषाकाे बिदेह नगरपालिका-१ ठाडीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७५ ट्याब्लेटसहित हंसपुर नगरपालिका-७ बस्ने २३ वर्षीय सुरेश कुमार यादवलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १४ मिलिग्राम सहित सोही ठाउँ बस्ने १३ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।












