Kathmandu Press

सहकारीमा सिकेको सीप र ज्ञानले बनायो नेता

सहकारीमा सिकेको सीप र ज्ञानले बनायो नेता

तनहुँ : व्यास–१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल र कुराकारी गरेरै बित्ने गर्दथ्यो । सहकारीमार्फत महिला सदस्य र समुदायमाझ राम्रो छवि बनाएको उनले २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी लीला दरैले भन्दा नौ सय ४४ मत बढी प्राप्त गरी महिला वडा सदस्यमा निर्वाचित भए।

व्यास नगरपालिकाको कार्यकारिणी सदस्यसमेत रहेका उनी अहिले विकास निर्माण र समुदायको समस्या समाधानमा सक्रिय भएर जुट्ने गर्छन। व्यास नगरपालिका–२ दमौलीस्थित कृष्णदेव बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएपछि नेतृत्व विकास भएको र विसं २०७५ देखि ऋण संयोजक भएर आर्थिक जिम्मेवारीसमेत लिएको दुराले बताए।

Hardik ivf

'पहिले मानिसको अघि खासै बोल्ने हिम्मत आउँथेन । पछि सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ,' दुराले भने, 'निर्वाचनमा उम्मेदवारी दिन्छु भन्ने हिम्मत पनि मलाई सहकारीले नै दिएको हो।' निर्वाचनमा उनले एक हजार पाँच सय ५२ मत र निकटतम् प्रतिद्वन्द्वी ३४ वर्षीया लीलाले ६०८ मत प्राप्त गरेका थिए।

सो सहकारी संस्थाकै अर्का महिला सदस्य ३७ वर्षीया केशरीमाया थापा पनि सोही सहकारी संस्थामा ऋण संयोजक भएर दुई कार्यकाल बिताए। विसं २०७० सालदेखि सहकारी संस्थामा करिब पाँच वर्ष समय बिताएको उनी पनि यसपटकको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका–५ को सदस्यमा निर्वाचित भए। सहकारीका सदस्यको विश्वास, सहकारीमा लिएको ज्ञान र सीप व्यवहारमा प्रयोग गरेकैले निर्वाचनमा विजयी भएको आफूले ठानेको उनले बताए। 'सहकारीका सदस्यसँग काम गर्ने शैलीले निर्वाचनमा सजिलो बनायो,' उनले भने, 'निर्वाचनमा विजयी हुनुमा सहकारी संस्थाको पनि ठूलो हात छ।' यस निर्वाचनमा उनले एक हजार एक सय नौ मत र प्रतिद्वन्द्व ५५ वर्षीया मनमाया श्रेष्ठले एक हजार ९५ मत प्राप्त गरेका थिए। चौध मतको फरकमा विजयी हुनुको पछि सहकारीकै महिला सदस्यको साथ र सहयोग रहेको उनले बताए।

उनीहरुले सक्रियता र जिम्मेवारी पूरा गर्नसक्ने खुबी देखेर नै उनीहरुलाई विभिन्न कार्यकालमा गरी आफूहरुले ऋण उपसमिति संयोजकको जिम्मेवारी सुम्पिएको संस्थाका अध्यक्ष सुकमाया थापाले बताए। 'उहाँहरुमा सहकारीका शेयर सदस्य महिलामा छिटो घुलमिल हुनसक्ने क्षमता थियो,' अध्यक्ष थापाले भने, 'त्यही लगन र खुबी चिनेका मतदाताले उहाँहरुलाई जनप्रतिनिधिसमेत बनाइछाड्यो।' आफूहरुले वित्तीय सुधारको अतिरिक्त महिलाको सीप र क्षमता विकासमा समेत विभिन्न तालिम दिँदै आएको अध्यक्ष थापाले बताए।

सोही सहकारीबाटै साथीसँग सम्पर्क बढाएर दुरा र थापा जनप्रतिनिधिसमेत भइसकेका गर्व लाग्ने गरेको उनले जानकारी दिए। विसं २०६९ मा सुरुमा २५ जना महिला आबद्ध भई उक्त सहकारी संस्था दर्ता गरी सञ्चालन गरेको अध्यक्ष थापाले बताए।

अहिले सहकारीको सञ्चालक समिति लेखा समितिलगायत विभिन्न उपसमितिमा महिला नै छन। व्यवस्थापक रञ्जिता क्षेत्री भुजेलदेखि लेखापाल र बजार प्रतिनिधि गरी सात कर्मचारी सबै महिला नै छन।

सहकारीमा हाल तीन सय ८७ जना महिला र ८५ जना पुरुष गरी कूल चार सय ७२ जना शेयर सदस्य रहेका छन। सहकारीमा ८६ लाख दुई हजार नौ सय रुपैयाँ कूल पुँजी र रु तीन करोड ३६ लाख ४४ हजार एक सय ४८ रुपैयाँ कूल लगानी रहेको सहकारी संस्थाले जनाएको छ । दमौली बजार क्षेत्रमा महिलाद्वारा सञ्चालित दुई वटा मात्र सहकारी संस्था छन् ।

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्