Kathmandu Press

दसैंमा बज्ने लोकप्रिय गीत

दसैंमा बज्ने केही पुराना–नयाँ गीत अत्यन्त चर्चित छन्। दसैंमा गरिने रमाइलो, परदेशीले घर आउन नपाउँदा पोख्ने गरेका पीडा, दसैंका सांस्कृतिक–सामाजिक पाटापक्षलाई सम्बोधन गर्ने थुप्रै गीत बनिसकेका छन्, बनिरहनेछन्।
दसैंमा बज्ने लोकप्रिय गीत

काठमाडौं, असोज १६ : संगीत जगतमा कतिपय गीत चाडपर्वलाई लक्ष्य गरेर सिर्जना गरिन्छन्। तिहार, तीज, होलीलगायत पर्वमा जस्तै दसै लक्षित गीतहरू पनि थुप्रै बनेका छन्। चाडपर्वलाई केन्द्रमा राखेर गीति सिर्जना गर्ने परम्परा बसेको लामो समय भइसकेको छ। 

सिर्जना भएको लामो समय बितिसक्दा पनि कतिपय गीत अहिलेसम्म ताजा बनेर रहेका छन्। कुनै त यस्ता कालजयी र लोकप्रिय छन्, जुन दसैंकै पर्यायजस्तै बन्न पुगेका छन्। ती यति कर्णप्रिय पनि छन्, प्रायः सबैले त्यसलाई गुनगुनाउने गर्छन्। अर्थात्  जनजिब्रोमा झुन्डिन ती गीत सफल छन्।      
दसैं गीत बज्दा दसैं आएको आभास हुन्छ।  पहिलेदेखि नै सुनिएका कतिपय दसैं गीतले श्रोतालाई ‘नोस्टाल्जिक’ नै बनाइदिन्छन्। ती गीतले विगतमा दसैं मनाएका क्षणहरूलाई ताजा गराइदिन्छन्। 

दसैं गीतले उत्सवमय वातावरणमा थप रौनक भर्ने काम गर्छन्। दसैंको मूल्य, महत्व, भावना, प्रसंग समेटिएका गीतहरूले मानिसमा हर्ष, खुसी, उत्साह भर्ने मात्र होइन, प्रेरणा जगाउने कामसमेत गर्छन्। 

Hardik ivf

प्रत्येक वर्ष धेरै दसैंका गीत थपिँदै जान्छन्। दसैंमा बज्ने केही पुराना–नयाँ गीत अत्यन्त चर्चित छन्। दसैंमा हुनेगरिने रमाइलो, परदेशीले घर आउन नपाउँदा पोख्ने गरेका पीडा, दसैंका सांस्कृतिक–सामाजिक पाटापक्षलाई सम्बोधन गर्ने थुपै्रै गीत बनिसकेका छन्, बनिरहनेछन्।

काठमाडौं प्रेसले दसैं विशेषलाई केन्द्रमा राखेर बनाइएका केही पुराना र नयाँ गीतलाई समेट्ने प्रयास गरेको छ। 

दसैं आयो

‘चरिररिररी रै चरिररिररी रै चरिररि ररिररी रै
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो,
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो,
हो... दसैं आयो हो...दसैं आयो...

युट्युबमा यो गीत सार्वजनिक भएको आठ वर्ष भयो। तर चलचित्र ‘मुग्लान’मा गीत १७ वर्षअघि नै समेटियो छ।

दसैंको बेला यो गीतले हरेक वर्ष चर्चा पाउँदै आएको छ। यो गीतको धुन सुन्दा जोकोही नेपाली जनले दसैं आएको अनुभूति गर्न गर्छन्। धुनबाटै दसैं आएको भाव व्यक्त भएको यो गीतमा युट्युब भ्युअर्स १ करोड ६० लाख नाघिसकेका छ।

बुढा सुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमा १ लाख ३६  हजारले यो गीतलाई लाइक गरेका छन्। ६ हजार ३ सय ५८ जनाले यसलाई कमेन्ट गरेका छन्। 

‘दसैं आयो’ गीत लोकनाथ सापकोटाले लेखेका हुन्, संगीत पनि उनकै छ। लोकभाकामा तयार पारिएको यो गीतलाई उदितनारायण झा, दीपा झा, नारायण लामा र जुना प्रसाईले स्वरबद्ध गरेका हुन्।

दसैंतिहार चाड र बाड

वर्ष र दिनमा लै लै हर्षका दिनै लै लै
दसैं तिहार चाड र बाड खुसीले सारा भर्‍यो नि संसार...

यो गीत चार वर्षअघि गायक सुगम पोखरेलले सार्वजनिक गरेका हुन्। ‘दसैंतिहार’ एल्बममा समाविष्ट यो गीतमा रवि श्रेष्ठका शब्द छन्। गीतमा संगीत गायक पोखरेलकै छ। उनले आफ्नो युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। 

दसैंका अवसरमा आफ्ना परिवारसँग घुलमिल भएर चंगा उडाउने, टीका लगाउनेलगायका विभिन्न संस्कारका पाटालाई समेटेर बनाइएको यो गीत सुन्दा दसैं आएको महसुस हुन्छ। 

उक्त गीतको भिडियो युट्युबमा २ करोड १५ लाखभन्दा धेरैले हेरेका छन् १ सय ७८ हजार बढीले लाइक पनि गरेका छन्। यो गीतका लागि ७ हजार ४ सय १५ वटा कमेन्ट पनि गरिएका छन्। 

दसैं नै हो कि यो मेरो दशा

दसैं नै हो कि यो मेरो दशा
फर्किआएको
वर्ष नै पिच्छे किन यो मेरो 
टाउको खाएको...

चर्चित गायक योगेश्वर अमात्यको स्वर रहेको गीत हो, ‘दसैं नै हो कि यो मेरो दशा...’।
यो गीतले विपन्न वर्गमा दसैंले निम्त्याउने समस्याको भाव समेटेको छ। यो गीत पनि सदावहार चर्चामा छ।

यो गीतको बीचबीचमा राखिएका हास्य रसका संवादले दर्शकलाई हँसाउनुका साथै समाजको वास्तविकतालाई झल्काउने काम गरेको छ।  

दसैं आयो लै लै तिहार आयो लै लै

दसैं आयो लै लै तिहार आयो लै लै
छरिन् अरे आमाले जमरा छोरा आउने खबर सुनेर

तीन वर्ष अघि नरेन्द्र पुनको युट्युबमार्फत सार्वजनिक भएको ‘दसैं आयो लै लै तिहार आयो लै लै’ गीत पनि युट्युबमा चर्चित छ।  सुरेश रानाको शब्दमा बनेको गीतमा सागर आले र सायरा मगरले स्वर दिएका छन्। 

दुर्गेश थापा र रिमा काउचालगायतले अभियन गरेको यो गीत सुन्दा पनि दसैंतिहार आएको महसुस हुन्छ। त्यसैले यो गीत पनि दर्शकले धेरै रुचाएका छन्।  

यस गीतलाई ५२ लाखले हेरेका छन् भने ६७ हजारले लाइक गरेका छन्। १ हजार ८ सय ३९ जनाले गीतमा कमेन्ट गरेका छन्। 

बडादसैं आयो

हो हो हो हो... ला ला ..ला
जमरा र रातो टीका पिङको मौसम आयो 
मान्यजनको आशिष लिने बडा दसैं आयो 

लोकभाकाको गीत ‘बडा दसैं आयो...’ मा टंक बुढाथोकी र सरु गौतमको स्वर छ। उक्त गीतमा शब्द तथा संगीत गायक बुढाथोकीसँगै अर्जुन कार्की र अमृता नेपालको छ। भिडियोमा नीता ढुंगाना र शंकर बिसीले अभिनय गरेका छन्।  

तिर्सना म्युजिकले युट्यबमार्फत सार्वजनिक भएको उक्त गीत ती वर्षअघि सार्वजनिक भएको हो। उक्त गीत सुन्दा दसैं आएको अनुभूति हुन्छ। ८२ हजारभन्दा बढीले हेरेको उक्त गीतमा १४ हजारले लाइक ६४ जनाले कमेन्ट गरेका छन्। 

दसैं आयो तिहार आयो मनै हरर

दसैं आयो तिहार आयो मनै हरर
प्लेन टिकट गरी नेपाल जान्छु सरर...

एक वर्षअघि गायक टंक बुढाथोकीले आफ्नो पर्सनल युट्युबमार्फत सार्वजनिक गरेका गीत पुरानो भए पनि एकदम रुचाइएको छ। गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेतीका साथै चर्चित बालगायक अशोक दर्जी, गायिका बिन्दु परियार र गायक प्रकाश आचार्यको स्वर यस गीतमा छ।

गीतमा टंक बुढाथोकी र बुनु उप्रेतीको लय तथा शब्द छ। भिडियोमा लक्ष्मी गिरी, शूरवीर पण्डित, टंक बुढाथोकी, अशोक दर्जी, बुनु उप्रेती र दक्षता श्रेष्ठको मुख्य अभिनय छ। भिडियो निर्देशन टंक बुढाथोकीले गरेका हुन्।

गत वर्ष छोटो समयमा चर्चित भएको यो गीत हालसम्म ९९ लाख भन्दा बढीले हेरेका छन्। १ सय ३५ हजार लाइक र २ हजार कमेन्ट आएका छन्। 

चरर..बरर..धरर

फुलेका होलान् मखमली फूल डुलेका भमरा
यसपालि लगाउन पाइन टीका र जमरा... 

यो दसैं लक्षित चर्चित गीत हो। यो गीतमा शब्द र संगीत प्रकाश सपुतको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्। यो गीत पाँच वर्षअघि सार्वजनिक भएको हो।

प्रकाश सपुतको आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका हुन्। उक्त गीत युट्युबमा ९८ लाखले हेरेका छन्। भने ९७ लाइक  र ३ हजार ५ सय २८ ले कमेन्ट गरेका छन्। 

विदेशमा गएका नेपाली दसैंको अवसरमा घर फर्किन नपाएको पीडा पोखेको यो गीत एकदम रुचाइएको छ। 

दसैं आयो तिहारै आयो 

दसैं आयो तिहारै आयो 
दसैं आयो तिहारै आयो गाउँघर रमाइलो...

केही दिनअघि मात्र २०७९ को दसैंतिहार विशेष गीत मोक्तान डिजिटलमार्फत सार्वजनिक भएको छ। प्रकाश तामाङ, सुमिना लो, सुलभ तामाङ सिर्जना तामाङको स्वरमा सार्वजनिक भएको दसैं विशेषको गीत सुलभ तामाङको शब्द हुन्। 

सार्वजनिक भएको धेरै समय नभए पनि झन्डै एक लाखले यो गीत हेरिसकेका छन्। थसप्रैले यो गीतमा कमेन्ट गरेका हुन्। 

टीकाटालो  

गर्दैऊ टीकोटालो आमा
त्यै कटी मन पर्‍यो गर्दैऊ टीकोटालो...

एकसाता अगाडि पशुपति शर्माले आफ्नो युट्युबमार्फत दसैं तिहार विशेष ‘टिकाटालो’ सार्वजनिक गरेका छन्। शर्माकै शब्दमा रहेको सो गीत गायनमा उनलाई सम्झना भण्डारीले साथ दिएकी छन्। 

उक्त गीतमा दसैंमा अवसरमा आफूले मन पराएको केटीसँग विवाह गरिदिन आग्रह गर्दै सुरुवात गरिएको छ। एक सातामा ३ लाख ८० हजारभन्दा बढीले हेरिसकेका छन् भने ११ हजार लाइक र ४ सयभन्दा धेरै कमेन्ट आएका छन्। 

प्रकाशित मिति: ११:५७ बजे, आइतबार, असोज १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्