Kathmandu Press

पाकिस्तानमा डेङ्गुको प्रकोप, ३० हजारभन्दा बढी सङ्क्रमित

पाकिस्तानमा डेङ्गुको प्रकोप, ३० हजारभन्दा बढी सङ्क्रमित

इस्लामावाद : पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ।

पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या तीस हजार २६७ पुगेको छ।

इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डिएचओ)ले शनिबार दिएको जानकारी अनुसार कुल सङ्क्रमित मध्ये दुई हजार ४३५ जना राजधानी इस्लामावादका हुन्।

डेङ्गुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ। ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो।

पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेङ्गुको प्रकोप पनि फैलिएको हो।

बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेङ्गुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ। सिन्ध प्रान्तमा डेङ्गुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ।

बाढी पहिरोका कारण लाखौँ मानिस विस्थापित भएको, घरबार विहीन भएको र फोहोर भएकाले लामखुट्टेबाट जोगिन नसकेकाले पनि डेङ्गुबाट धेरै जना सङ्क्रमित हुनु परेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्