Kathmandu Press

‘कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत हुनुपर्छ’

‘कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत हुनुपर्छ’

काठमाडाैं : कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने विज्ञ एवं सरोकारवालाले जोड दिएका छन्।

उपभोक्ता जागरण अभियानको प्रथम साधारणसभाका सहभागी वक्ताले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगोमा वस्तु तथा सेवा बिक्री गर्न तल्लीन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने बताए।

Hardik ivf

दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी निकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरूको सुझाव छ। कार्यक्रममा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने खाँचो औँल्याए। उनले बजारमा बढ्दो अनियमितता र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत र जागरुक बन्नुपर्ने बताए।

पूर्वसचिव बाँस्कोटाले भने, 'बजारमा दण्डहीनताको अवस्था बढेको छ। यसको मारमा उपभोक्ता छन् त्यसैले संविधानले सुनिश्चित गरेको उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ, यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ।' उनले उपभोक्ताले बजारमा वस्तु तथा सामग्री खरिद गर्दा उत्पादन मिति, मूल्यसूचीलगायत विषयमा सचेत हुनुपर्ने बताए।

पूर्वसचिव डा हरि दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी निकायले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाई वर्षैभरि सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए।

वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागिपरेको उल्लेख गर्दै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्ने बताए।
 
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हकहित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवं संस्था एकताबद्ध भएर लाग्नुपर्ने बताए।
 
कृषि बाली व्यवसाय प्रवद्र्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियन्ता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र विक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मी लाग्नुपर्नेमा जोड दिए । मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए ।
 
भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति

साधारणसभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईँको प्रतिवेदन पारित गरेको थियो। यस्तै साधरणसभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमितिसमेत चयन भएको छ।

मञ्चको उपाध्यक्षमा सुशीलाकुमारी दबाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणि पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सहसचिवमा बद्रीविशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाईँ तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल रहेका छन।

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्