Kathmandu Press

पाकिस्तानमा डेङ्गुको प्रकोप झन् बढ्यो

पाकिस्तानमा डेङ्गुको प्रकोप झन् बढ्यो

इस्लामावाद : पाकिस्तानमा केही हप्तायता देखिएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुगेकोमा अहिले फेरी डेङ्गुको प्रकोप थप बढेको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको हो। डेङ्गुको प्रकोप बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन्।

यसअघि बाढीबाट पनि बढी क्षति पुगेको पाकिस्तानको सिन्ध प्रान्तमा डेङ्गुको पनि प्रकोप बढेको हो। सो प्रान्तमा मात्र गएको २४ घन्टायता तीन सय ८७ जना डेङगुका बिरामी भेटिएका छन्।

यसपछिको प्रभावित क्षेत्र कराँची हो। कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ५३ जनामा यसको सङ्क्रमण देखिएको छ।

सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन्, ती क्षेत्रमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ।

यी दुई प्रान्तमा गरेर गएको सेप्टेम्बर महिना यतादेखि आजसम्ममा नौ हजार जनाभन्दा बढीमा यसको प्रकोप देखिएको हो।

सिन्ध प्रान्तमा मात्र छ हजार छ सयजनामा यसको प्रकोप देखिएको छ। यी दुवै प्रान्तमा यसको प्रकोप बढ्दै गएको पाइएको अधिकारीले जनाएका छन्।

पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ।

यहाँ पनि यसवर्ष मात्र पाँच हजार जनाभन्दा बढीमा यो संक्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन्।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्