एकल महिलामाथि हुने हिंसा अन्त्यका लागि कानून कार्यान्वयमा जोड

काठमाडाैं : राष्ट्रिय महिला आयोगका पदाधिकारी र यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयमा जोड दिएका छन् ।
आयोगले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले समयसापेक्ष कानूनको निर्माण र त्यसको कार्यान्वयनको आवश्यकता औँल्याएका हुन् । आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिलाले विगतदेखि भोग्दै आएको हिंसाले अझै निरन्तरता पाएकाले अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने बताइन।
एकल महिलाले समाज, परिवारमा भोग्दै आएको विभेदले अझै हाम्रो समाजमा पुरातन सोचमा परिवर्तन नआएको उनको भनाइ थियो। अध्यक्ष पराजुलीले समानताका लागि बनाइएका कानून कार्यान्वयन गराउँदा एकल भएकै आधारमा महिलामाथि विभेद हटाउन सकिने बताइन।
आयोगका सदस्य कृष्णकुमारी खतिवडाले एकल महिलमाथि हिंसा जारी रहनु दुःखद् भएको बताइन। उनले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्य हुनुपर्ने धारणा राखिन। एकल महिला समूहकी अध्यक्ष कविता पाण्डेले एकल महिला सम्पत्ति र स्वतन्त्रताको अधिकार प्रयोग गर्नबाट बञ्चित भएको धारणा राखिन।












