राष्ट्रिय खेलकुदका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद–२०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र आज प्रदान गरिएको छ।
राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले शीतल निवासमा निमन्त्रणापत्र प्रदान गरेका हुन। सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए।
पोखरा रङ्गशालामा असोज २८ गते हुने नवौँ राष्ट्रिय खेलकुदको राष्ट्रपति भण्डारीबाट समुद्घाटन हुने कार्यक्रमअनुसार निमन्त्रणा गरिएको हो। त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिका बारेमा पनि जानकारी गराइएको थियो।
नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीको बीमा
राखेप नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी नौ हजार जनाको बीमा गरिने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच आज सम्झौता भएको छ। राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्कर अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
बीमित खेलाडीको सङ्ख्या छ हजार रहेको छ भने बाँकी तीन हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जानकारी दिए। बीमाको अवधि एक महिना रहेको छ। प्रत्येकको रु १० लाख बराबरको बीमा गरिएको हो।












