Kathmandu Press

मनास्लु हिमपहिरा अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

मनास्लु हिमपहिरा अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

गाेरखा : उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ। पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार गरिएको हो। सकुशल उद्धार गरिएकाहरुमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा, २९ वर्षीय फुर्ते शेर्पा, सङ्खुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहेकाे उाले बताए।

Hardik ivf

त्यस्तै दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जीतबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उनले बताए। घाइते सबैलाई उद्धारपछि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाई सकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ।

हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। उनले पहिरामा परी ज्यान गुमाएका सङ्खुवासभा जिल्ला घर भएका अनुप राईको शव निकाल्न भने कठिनाइ भइरहेको बताए।

'त्यस क्षेत्रमा आज पनि पुनः मौसम पनि बिग्रन थाल्यो,' प्रहरी नायब उपरीक्षक लामिछानेले भने, 'शव केही तल खोँचमा रहेकाले निकाल्न कठिनाइ भइरहेको छ।' आज नै शव निकाल्न सक्ने अवस्था नरहेकाले भोलि मात्र राईको शव निकाल्न आधार शिविरमा हेलिकप्टर पुग्ने उनले बताए।

विभिन्न चार एजेन्सीबाट गएका उनीहरु सोमबार हिमपहिरामा परेका थिए। प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका पाँच, सेभेन समिटका गएका तीन, एचके एक्सप्रेसनबाट गएका दुई र चितवन एड्भेन्चरबाट गएका तीनजना हिमपहिरामा परेका हुन्।

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्