Kathmandu Press

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुर : कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए। 'सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्ध भएन, बिरामीको चाप बढ्दैछ,' उनले भने, 'अहिले अस्पताल आफैंले किट खरिद गर्ने र परीक्षण गरेको बिरामीबाट शुल्क लिने निर्णय गरेको छ।'

Hardik ivf

उनले अस्पतालमा डेङ्गुका बिरामी बढेको बताए। प्रदेश सरकारसँग किट माग गरे पनि ३०/४० वटा मात्रै पठाउने र त्यसले एक दिनसमेत नपुग्ने उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताए। 'जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, हामीसँग पर्याप्त किट छैन,' उनले भने, 'स्वास्थ्य कार्यालयबाट करिब चार सय किट नौवटै पालिकामा पठाउने काम भइरहेको छ।'

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा सङ्क्रमण देखिएको छ। पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा तीन, कृष्णपुर, बेलौरी र लालझाडीमा दुई/दुई र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा सङ्क्रमण देखिएको छ। दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र आठजना काठमाडौँबाट फर्केका रहेका छन्।

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्