मौरीपालक महासंघको अध्यक्षमा सुभाषचन्द्र घिमिरे
राष्ट्रिय किसान महासङ्घकी महासचिव रीता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेकोप्रति गुनासो व्यक्त गरिन्।
चितवन, असाेज ९ : नेपाल मौरीपालक महासंघको अध्यक्षमा चितवनका सुभाषचन्द्र घिमिरे चयन भएका छन्। मौरी पालकको शनिबार भरतपुरमा सम्पन्न २२औँ राष्ट्रिय भेलाले उहाँलाई अध्यक्षमा चयन गर्दै २४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद अमगाईं, उपाध्यक्षद्वय प्रह्लाद अर्याल र पदमबहादुर अर्याल, महिला उपाध्यक्षमा उमाकुमारी खत्री चयन भएका छन्। महासचिवमा शालिक रामबानिया, सचिवमा इमनाथ पोखरेल, कोषाध्यक्षमा जनकबाबु तिवारी, सहकोषाध्यक्षमा नन्दराम अर्याल निर्वाचित भएका छन्।
यस्तै महासङ्घको लेखा समितिको संयोजकमा रविकुमारी कडरिया निर्वाचित भएका छन्। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको उपस्थितिमा पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका थिए।
कार्यक्रममा मन्त्री खनालले महमा अनुदान दिने नीति सरकारको रहेको बताए। उनले धेरैभन्दा धेरै अनुदान भित्र्याउन उत्पादनतर्फ लाग्न मौरीपालक किसानलाई आग्रह गरे।
राष्ट्रिय किसान महासङ्घकी महासचिव रीता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेकोप्रति गुनासो व्यक्त गरिन्। उनले राज्यको स्पष्ट नीति नहुँदा २०औँ वर्ष लाग्दा पनि मौरीपालक किसानले विदेशी कम्पनीसँग प्रतिस्पर्धी गर्न नसकेको बताए। स्ताकोटीले ठूला व्यावसायीलाई मात्र हेरेर नीति, नियम, कानुन र कार्यक्रम नल्याउन आग्रह गरे।
देशमै दुःख गर्छु भन्ने सोचमा रहेका किसानको चाहनालाई सही मूल्याङ्कन गर्नुपर्ने उनको माग छ। कार्यक्रममा उपस्थित पदाधिकारी तथा मौरीपालक किसानले काम गर्ने भन्दा कागजी प्रक्रिया मिलाएर पेस गर्नेले अनुदान पाएकोप्रति गुनासो गरेका थिए।
नेपालमा तीन हजारदेखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ। यहाँको माग पूरा गर्न छ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासङ्घले जनाएको छ।
-1786083934.jpg)










