भूगोलविद् डा. गुरुङको स्मृतिमा उद्यान निर्माण हुँदै
गण्डकी प्रदेश सरकार र मर्स्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मस्र्याङ्दी-७ मा उद्यान निर्माण भइरहेको डा. हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ।काठमाडाैं, असाेज ७ : भूगोलविद् डा. हर्क गुरुङका जन्मस्थलमा डा. हर्क गुरुङ उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ।
गण्डकी प्रदेश सरकार र मर्स्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मर्स्याङ्दी-७ मा उद्यान निर्माण भइरहेको डा. हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार साढे पाँच रोपनी जग्गामा हालसम्म समाधिमा ढुङ्गाको छपनी बिच्छाउने, प्याराफिट निर्माण सम्पन्न भएको छ। बगैँचा निर्माण भइरहेको वृक्षरोपण लगाउने र दुबो लगाउने काम भइरहेको छ।
यसका लागि आर्थिक वर्ष २०७४/७५ देखियता प्रदेश सरकारले रु. १० लाख र गाउँपालिकाबाट रु. १४ लाख गरी २४ लाख बजेटमा विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिए।
उनले भने, 'समाधिस्थलसँगै उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने यस वर्ष संघीय सरकाबाट १५ लाखको योजना परेको छ।'
यस रकमबाट शौचालय बनाउने र अन्य संरचना बनाउने भएको छ। उद्यान १० रोपनीमा निर्माण हुने भएको छ। उद्यान निर्माणका लागि रु छ करोड ३१ लाखको डिपिआर तयार भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा पुस्तकालय, डा गुरुङको शालिक, सङ्ग्रहालय, डा गुरुङका सामग्री प्रदर्शन कक्ष, सभा हल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने जनाएको छ।
विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा २०६३ असोज ७ गते (२००६ सेप्टेम्बर २३) को दिन हेलिकोप्टर दुर्घटना हुँदा डा. गुरुङसहित २४ जनाले एकै पटक ज्यान गुमाउनुपरेको थियो।
डा. गुरुङको १६औं स्मृति दिवसका अवसरमा आज लमजुङ बेंसीसहरमा निर्माण गरिएको शालिकमा विभिन्न व्यक्तिद्वारा माल्यार्पण गर्दै सम्झना गरिएको छ।