Kathmandu Press

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दै

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दै

कराँची, असोज ७ : बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गुको प्रकोप थप बढेको यहाँका अधिकारीहरुले जनाएका छन्। पाकिस्तानका अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको जनाएका छन्।

पाकिस्तानको सिन्ध प्रान्त डेङ्गुबाट बढी प्रभावित देखिएको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ।

यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट कम्तीमा पनि ३० जनाको ज्यान गएको सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार यहाँ डेङ्गुबाट गएको २४ घन्टा यतामात्र यहाँका चार सय दुइ जनालाई डेङ्गु लागेको छ। यसपछिको प्रभावित क्षेत्र कराँची हो। कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ७९ जनामा यसको सङ्क्रमण देखिएको छ ।

सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन् । बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

सेप्टेम्बर महिनामा मात्र सिन्धमा चार हजार तीन सय भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, असोज ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्