कमजोर कार्यसम्पादन भएका प्रजिअहरुको सरुवा गर्ने गृहको तयारी
मन्त्रालयले आन्तरिक सर्वेक्षण गरेर कार्य सम्पादन कमजोर रहेका बाँके, पर्सा, बारा, सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलाई परिवर्तन गर्ने तयारी गरेको हो ।
काठमाडौं, असोज ६ : गृह मन्त्रालयले कार्यसम्पादनमा कमजोर भएका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तनको तयारी थालेको छ । मन्त्रालयले आन्तरिक सर्वेक्षण गरेर कार्य सम्पादन कमजोर रहेका बाँके, पर्सा, बारा, सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलाई परिवर्तन गर्ने तयारी गरेको हो ।
यसरी परिवर्तन गर्नेमा बाँकेमा सूर्यबहादुर केसी, बारामा कृष्णबहादुर कटुवाल, पर्सामा उमेश ढकाल, सुनसरीमा इन्द्रदेव यादव, मोरङमा काशीराज दाहाल र झापामा छविलाल रिजाल प्रमुख जिल्ला अधिकारी छन् । मन्त्रालयले केही दिन अगाडि काठमाडौँ, ललितपुर, कास्की, उदयपुर, सप्तरी, जुम्ला, दैलेख र संखुवासभाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको थियो ।
त्यसका केही अवधि पुगेका र कही कार्य सम्पादन कमजोर भएका थिए । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय गर्दै तयारी अगाडि बढाएको छ । निर्वाचन स्वच्छ निस्पक्ष र धाधलीरहित रुपमा सम्पन्न गर्न कार्य सम्पादनको मुल्यांकन गरेको थियो ।
त्यसमा ६ जिल्लाका प्रजिअहरुको कार्य सम्पादन कमजोर देखिएको हो । उनीहरुलाई आचारसंहिता लाग्नु अघि नै सरुवा गर्ने तयारीमा मन्त्रालय लागेको बुझिएको छ ।












