पर्सा प्राणी उद्यान चिडियाखानाले समृद्धि ल्याउँछ : मन्त्री यादव

काठमाडौं, असोज ६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले जिल्लाको समृद्धि तथा विकास ल्याउने बताएका छन्।
वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडियाखानाको आज शिलान्यास गर्दै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीयस्थल नभएको र हाल निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले यहाँ समृद्धि र विकास ल्याउने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
उनले भने, ‘पर्सामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि र यहाँको समृद्धिसहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरेको छु, अब यहाँ पर्यटकको सङ्ख्या वृद्धि हुनुका साथै, यहाँको विकासमा थप टेवा पुग्ने छ।’ मन्त्री यादवले आफू मन्त्री भएपछि पर्सामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर उक्त कार्य सफल भएको बताए।
पर्साबासीको आयस्तरमा वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौँ पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताए। उनले भने, ‘पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रवद्र्धनसहित त्यहाँका नागरिकको आर्थिक स्तरमा वृद्धि गर्ने मैले अपेक्षा लिएको छु।’ वीरगञ्जमा चिडियाखानाका लागि लामो समयदेखि पहल भए पनि निर्माणका लागि अनुमतिप्राप्त हुनसकेको थिएन।
पर्सा र बाराको बीचमा निर्माण गरिन लागेको उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवको विश्वास छ ।












