राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिन्छ : नेपाल
उनले राष्ट्रपतिले अहिले संविधान नै उल्ल्लंघन गरेका कारण भविष्यमा पनि कानुन उलंघन गर्ने सम्भावना देखिएको तर्क गरे।
काठमाडाैं, असाेज ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन्।
बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानुनी उपाय खोजिने बताएका हुन्।
कानुनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए। उनले राष्ट्रपतिले अहिले संविधान नै उल्ल्लंघन गरेका कारण भविष्यमा पनि कानुन उलंघन गर्ने सम्भावना देखिएको तर्क गरे। अध्यक्ष नेपालले नागरिकता विधेयकका बिषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखे।
त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताउनुभयो। उहाले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरे।
अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठुला आउने र कमजोर हुँदा सबैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए।
त्यस्तै उनले सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा राखे।











