डा. केसी आफ्नै खर्चमा काठमाडौं आउने
उनी आजै साँझ पौने पाँच बजेको फ्लाइटबाट काठमाडौं आउन लागेका हुन् ।
काठमाडौं, असोज ४ : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । उनी आजै साँझ पौने पाँच बजेको फ्लाइटबाट काठमाडौं आउन लागेका हुन् ।
मंगलबार सेति प्रादेशिक अस्पतालले डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको र सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने बताएपछि सरकारले उनलाई काठमाडौं ल्याउने प्रयास गरेको थियो । डा. केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर मंगलबार दिउँसो धनगढी पुगेको थियो।
तर, डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन इन्कार गरेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर उनलाइ सेनाको हेलिकप्टरमार्फत काठमाडौं जान आग्रह गरेका थिए । डा. केसीले आफूलाई जबरजस्ती नगर्न आग्रह गरेपछि सेनाको हेलिकप्टर रित्तै काठमाडौं फर्किएको थियो ।
सेति प्रादेशिक अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ।त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उनकाे उपचार गरिने तयारी छ ।











