‘संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन’

काठमाडौं, असोज ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै चौतर्फी रूपमा आवाज उठिरहेका बेला उपराष्ट्रपति पुनले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर त्यस्तो धारणा व्यक्त गरेका हुन्।
‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु।’
सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यही असोज ३ गते हर्षोल्लासका साथ मनाएका स्मरण गर्दै विज्ञप्तिमा भनएिको छ, ‘यस सुनौलो दिनको अवसरमा हामी सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्याएका छौं।’
संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संविधानबमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ। पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।’
साउन २९ गते सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो। २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए।
संविधानको व्यवस्थाअनुसार यो विधेयक असोज ४ गते मध्यरातसम्म प्रमाणीकरण भइसक्नुपर्ने थियो तर राष्ट्रपति त्यसका लागि तयार भइनन्। राष्ट्रपतिको उक्त कदमलाई संविधानको धारा ११३ (४) को गम्भीर उल्लंघन भएको व्याख्या गरिएको छ।












