राष्ट्रपतिको कदमबारे कानुनविद्हरूसँग परामर्श गर्दै प्रधानमन्त्री
कानुनविदहरूका सुझावका आधारमा कसरी अघि बढ्ने भन्ने टुंगाे गर्ने जनाइएको छ।
काठमाडौं, असोज ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन्।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आज (बुधबार) बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणलाई लत्याएर संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको निष्कर्ष निकालेको छ।
बैठकमा दुई विकल्पमा छलफल हुने एक नेताले बताए। पहिलो विकल्प राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतः प्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने र दोस्रो विकल्प संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमविरुद्ध अदालतमा जाने रहेका छन्।
कानुनविदहरूका सुझावका आधारमा कसरी अघि बढ्ने भन्ने टुंगाे गर्ने जनाइएको छ।











