तमलोपाले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

काठमाडौं, असोज ५ : तराई मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ।
प्रतिनिधि सभाबाट दुईपटक पेश भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको ठहर गर्दै तमलोपाले राष्ट्रपति भण्डारीको राजीनामा मागेको हो।
‘संवैधानिक र श्रृंगारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको स्रोत देखाउने कोशिश गर्दै वीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको छ,’ तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आफ्नै देशको जनता विरुद्धको विभेदी मानसिकताले गरिएको षड्यन्त्र हो ।
अध्यक्ष लालले राष्ट्रपतिको उक्त कदमको भर्त्सना पनि गरका छन्। संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेको छ ।
‘सो नगरिए स्वतः प्रमाणीत हुने यस धाराको मनसाय हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस अनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभाुमखबाट सूचना टांस गरी गरिनुपर्ने र नेपाल सरकारले त्यसलाई संपुष्टि गुर्नपर्ने आग्रह गर्दछौं।’













