Kathmandu Press

डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल : एमाले

साउनमै व्यवस्थापिका संसदमा पार्टीका तर्फबाट सांसदहरूले डेंगु नियन्त्रणका लागि ठोस योजना र कार्यक्रम ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको पनि उनले स्मरण गराएका छन्।
डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल : एमाले

काठमाडौं, असोज ५ : नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणमा सरकारी संयन्त्र असफल भएको बताएको छ। एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर त्यस्तो बताएका हुन्।

‘साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको संख्या योभन्दा निक्कै धेरै रहेको छ। डेंगुुबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ।’

साउनमै व्यवस्थापिका संसदमा पार्टीका तर्फबाट सांसदहरूले डेंगु नियन्त्रणका लागि ठोस योजना र कार्यक्रम ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको पनि उनले स्मरण गराएका छन्। उनले अहिले बिरामीका लागि अस्पतालमा बेड र सिटामोललगायत औषधिको अभाव भएको पनि उल्लेख गरेका छन्।

‘स्वास्थ्य संस्थामा विरामीहरुका लागि बेड छैन। हजारौंको संख्यामा बिरामीहरु स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्। स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सिटामोल लगायत अतिआवश्यक औषधिको अभाव भएको छ। फेरि पनि सरकार परिणामहीन भएको छ।’

डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी गैरसरकारी निकायबीच समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधि सहज रुपमा उपलब्ध गराउन एमालेले माग गरेको छ।

308423636_619965209500950_6395040489152637890_n1663745664.jpg

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्