सर्वोच्च बारका अध्यक्ष भन्छन्– राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भयो
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् ।
काठमाडौं, असोज ४ : सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् ।
प्रतिनिधि सभाबाट दुईपटक पेश भएको विधेयकलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको शाक्यले बताए। आफूले दिएको सुझाव समेटिएन भन्दैमा राष्ट्रपतिले विधेयक नै प्रमाणीकरण नगर्ने अधिकार संविधानले नदिएको उनले बताए ।
विधेयक प्रमाणीकरण नगर्ने मनशाय भएको भए समयअगावै राष्ट्रपतिले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अध्यक्ष शाक्यले बताए । ‘बाटो पनि छेक्ने, कर्तव्य पनि निर्वाह नगर्ने प्रवृत्ति राष्ट्रपतिमा देखियो,’ उनले भने ।
अध्यक्ष शाक्यले संसदको कार्यकाल समाप्त भइसकेकाले पनि राष्ट्रपतिले यस्तो कदम चालेको बताए । ‘संसद पनि नभएको अवस्था हेरेर उहाँले असंवैधानिक कदम चाल्नुभयो,’ उनले भने ।











