डा. केसी काठमाडौं आउन नमानेपछि सेनाको हेलिकप्टर रित्तै फर्कियो
अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन नमानेपछि धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।
काठमाडौं, असोज ४ : अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन नमानेपछि धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । ९ दिनदेखि अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि काठमाडौं ल्याउन सेनाको हेलिकप्टर मंगलबार दिउँसो धनगढी पुगेका थियो ।
धनगढीको सेति प्रादेशिक अस्पतालमा उपचाररत डा. केसीले आफूमा जटिल समस्या नभएको बताउँदै उपचारका लागि काठमाडौं नजाने अडान लिएपछि हेलिकप्टर रित्तै फर्किएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
मंगलबार ड. केसीको उपचार गरिरहेका सेति प्रादेशिक अस्पतालका चिकित्सकहरुले उनको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको सार्वजनिक गरेका थिए । लगत्तै कैलाली जिल्ला प्रशासनले डा. केसीलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर बोलाएको थियो । तर, आफूलाई जबरजस्ती नगर्न आग्रह गरेपछि हेलिकप्टर रित्तै फर्केको हो ।
अनसन सुरु गरेको दुई दिनदेखि नै डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि सेति प्रादेशिक अस्पतालको आइसियूमा राखेर उपचार हुँदै आएको छ।











