डा. केसीको स्वास्थ्य अवस्था जटिल, थप उपचारका लागि काठमाडौं ल्याइँदै
स्वास्थ्यमा समस्या देखिएपछि अनसन बसेको दोस्रो दिन नै डा केसीलाई अस्पताल भर्ना गरिएको थियो । सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत रहेका केसीलाई कडा खालको अल्सर भएको आशंका गरिएको छ ।
काठमाडौं, असोज ४ : चिकित्सा शिक्षा सुधारको माग राख्दै ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि अनसन बसेको दोस्रो दिन नै डा. केसीलाई अस्पताल भर्ना गरिएको थियो । सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत रहेका डा. केसीलाई कडा खालको अल्सर भएको आशंका गरिएको छ ।
धनगढीमा उपचार हुन नसकेपछि डा. केसीलाई काठमाडौं ल्याउन लागिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेकाे कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पतालरस्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने माग डा. केसीकाे छ।
यस्तै, उनले सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने माग राखेका छन् ।











