सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान साढे १० बजेदेखि गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।
काठमाडौं, असोज ४ : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान साढे १० बजेदेखि गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । आजको बैठकमा गठबन्धन दलका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलका सदस्यहरु समेत सहभागी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन्।
११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी छन् ।
आजको बैठकबाटै सिट बाँडफाँट टुंगो लगाउने तयारी छ । यसअघि पटकपटक बैठक बसेपनि सहमति जुट्न सकेको थिएन। गठबन्धनमा सिट संख्यामात्र नभई निर्वाचन क्षेत्रसमेत भागवन्डा लगाउने तयारी गरेको छ । केही निर्वाचन क्षेत्रमा दोहोरो र तेहेरो दाबी भएका कारण भागबन्डामा सकस हुँदै आएको छ । माओवादी केन्द्रले सिट बाँडफाँटमा कांग्रेस लचिलो बन्नुपर्ने र एकीकृत समाजवादीले पनि आफ्नो हैसियत भन्दा बढी खोज्न नहुने बताउँदै आएको छ।











