एमयुएफसी विजयचोकले ‘सी’ डिभिजन लिग छनौट खेल्ने
सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडका समर्थकको टोली हो।
काठमाडौं, असोज ४ : एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले आगामी असोज ६ गतेबाट हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने भएको छ ।
सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडका समर्थकको टोली हो। सुरुवाती दिनमा सातामा विदाको दिन शनिवार भेला भएर एक आपसमा खेल्ने गर्थे । विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभित्र प्रतियोगिताहरुमा सहभागिता जनाएको थियो।
नैकाप गोल्डकप, शुटर्स कप लगायत विभित्र प्रतियोगितामा अनुभव बटुलेको क्लब गत वर्ष सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको सुपर ८ मा पुग्न सफल भएको थियो।
क्वलबले समुदायमा हुने विकास निर्माण, जनचेतना मुलका कार्यक्रमहरु, स्वास्थ्य शिविर, कोभिड १९ बाट प्रभावित व्यक्तिहरुलाई खाना खुवाउने, खाद्यात्र वितरण र निशुल्क कोभिड आइसोलेसन सेन्टर चलाएर समेत स्थानीयलाई सहयोग गरेको थियो।
आगामी दिनमा सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि आगामी असोज ६ गतेबाट हुने ‘सी’ डिभिजन लिग छनौट खेल्न लागेको क्लबका मेनेजर सुरेश नेपालले जानकारी दिए। उनका अनुसार एमयुएफसी विजयचोक युथ क्लब बीच सहकार्य गरेर दोस्रो पटक लिग फुटबल खेल्न लागेको हो।
यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनौट प्रतियोगितामा देशभरका ६० क्लब सहभागी हुने जानकारी दिएको छ । एन्फाले सहभागी ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा ३ क्लब रहेका छन्।
हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण तथा नकआउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।
यी समुहका सबै खेल कार्तिक २४ गते समापन हुनेछ।











