Kathmandu Press

भजनीका बाढी विस्थापित चार दिनदेखि सडकमै

कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायालाई पनि समस्या भएको छ।
भजनीका बाढी विस्थापित चार दिनदेखि सडकमै

टीकापुर, असाज ४ : कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायालाई पनि समस्या भएको छ।

जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ। चारैतिर बाढीले डुवान भएका कारण पशुचौपायालाई आहारा नभएको स्थानीय बासिन्दाले बताए।

भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन्। उनीहरु चार दिनदेखि सडकमै बस्दै आएका छन्। कतिपयले भोकभोकै बसिरहेको बताएका छन्।

बाढीका कारण तीन जनाको ज्यान गएको छ। बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो।

बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ। घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ।

बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन्।

भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बसेकी छन्। चाउचाउ र चिउराको भरमा बसिरहेको उनले बताइन्।

त्यस्तै, शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहेकी छन्। उनले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको बताइन्।

शनिबार विस्थापित भएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन। उनहरू पनि वस्तुभाउसहित सडकमा बसेका छन्। विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ। बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ।

खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ। उनको घरखेत सबै बाढीमा मिसिएकाले परिवार सडकमा बस्दै आएको छ।

भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपील गरेको छ। नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पु¥याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ।

मेयर केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ, 'जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपील गरिएको छ।' (रासस)

प्रकाशित मिति: ०८:४८ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्