Kathmandu Press

पुल नहुँदाकाे पीडा : ज्यानकाे जाेखिम माेलेर शिक्षकले विद्यार्थीलाई खाेला तार्नुपर्ने बाध्यता

वर्षामा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ चेतबहादुर घलेले बताए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नै छुटाउने गरेको उनको भनाइ छ। 
पुल नहुँदाकाे पीडा : ज्यानकाे जाेखिम माेलेर शिक्षकले विद्यार्थीलाई खाेला तार्नुपर्ने बाध्यता

हेटौंडा, असाेज ३ : मकवानपुरको बकैया गाउँपालिका–१२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ। विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नभएकाले विद्यार्थीलाई खोला तार्नु उनको दैनिकी बनेकाे हो।

विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताए। २०७० बाट शिक्षण पेसामा लागेका ३९ वर्षीय घले करिब आठ महिनाअगाडि घरनजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आएका हुन्।

'घर पायक पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कमडामा पढाउन बाध्य छु,' खोला तारेर विद्यालय पुर्‍याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्काएर जोखिम भइसकेको उनी बताउँछन्। 

वर्षामा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नै छुटाउने गरेको उनको भनाइ छ। 

उनले आफू कालाभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटकपटक अनुरोध गर्न पुगेको बताउँछन्। उक्त स्थानबाट नजिक रहेका अरु दुई वटा विद्यालय पनि छन् तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रअ घलेले जनाए। 

कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असारमा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जानकारी दिए 

सिमात खोला तर्न वर्षामा विद्यार्थीहरुले समस्या भोग्नुपरेको उनको भनाइ छ। तामाङ समुदायको बाहुल्य रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत रहेका छन। जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ। 

हाल यहाँ बालकक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ। बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन्। भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रअ घलेले बताए।

विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थी आउन नसकेपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङले बताए। प्रअसँगै आफू पनि विद्यार्थीलाई खोला तार्न जाने गरेको उनले बताए।
        
धेत्रे र चुवार पाखाका बालबालिकालाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिनुभयो। स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरुको गुनासो छ। 

२०५३ सालमा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एक जना प्रधानाध्यापक र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन्। बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्