पार्टीभित्र गुटबन्दी गरे कारबाही गर्ने अध्यक्ष नेपालको चेतावनी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिएका छन्।
काठमाडौं, असोज ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिएका छन्।
सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिबादी चरित्र देखापरेकै कारण आफुहरुले बिद्रोह गर्नुपरेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले आफ्नो पार्टी पुरातनवादी पार्टी भन्दा भिन्न पार्टी भएको जिकिर गरे। उनले यसअघि जनताले दिएको जनमतलाई एकाधिकारबादी बानीले मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट पार्टी भिन्न भएको बताए।
पाँच दलको गठबन्धनको सरकारलाई अघि बढाउने काम गरेपछि नेपालको राजनीतिमा नयाँ परस्थीति सिर्जना भएको उनले बताए। उनले पार्टीलाई जिल्ला जिल्लामा बिस्तार गरि आउने निर्वाचनमा पार्टीलाई भारी मतले जित दिलाउने गरि तयारी गर्न निर्देशन दिए।











