संविधानले सामाजिक विकृति र विसंगतीको अन्त्य गरेको छ : प्रधानमन्त्री

काठमाडौं, असोज ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले समाजवमा रहेका विकृति र विसंगतिको अन्त्य गरेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपाली समाजमा विगतमा रहेका जातीय छुवाछुत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति र विसंगतिको अन्त्य गरेको बताएका हुन् ।
उनले वर्तमान संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै जनतालाई वृहत राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताएका छन्।
प्रधानमन्त्री देउवाले संविधान र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा अमूल्य जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। लामो संघर्ष र बलिदानबाट असोज ३, २०७२ मा घोषणा भएको नेपालको संविधान लोकतान्त्रिक आन्दोलनको एैतिहासिक उपलब्धी भएको बताएका छन् ।
‘यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गर्दछु,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारले मुलुकमा संघीय लोकतान्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशिल र प्रतिवद्ध रहेको बताएका छन् । उनले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हकअधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैं सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् ।
उनले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।











