महिला साफ : उपाधिको लक्ष्यसहित बंगलादेशसँग भिड्दै नेपाल
महिला साफमा नेपालको यो पाँचौं फाइनल हो भने बंगलादेशको दोस्रो फाइनल ।
काठमाडाैं, असाेज ३ : महिला साफ च्याम्पियनसिपको उपाधिको लक्ष्यसहित नेपाली महिला टिमले आज बंगलादेशसँग खेल्दै छ। दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आज हुने फाइनल जसले जित पनि साफले नयाँ च्याम्पियन पाउने छ। महिला साफमा नेपालको यो पाँचौं फाइनल हो भने बंगलादेशको दोस्रो फाइनल । दुवै फाइनलमा भारतसँग पराजित भएका थिए।
पाँचपटकको च्याम्पियन भारतलाई जारी प्रतियोगितामा पराजित गरेका दुवै टिमबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह चरणमा बंगलादेशले भारतलाई ३९० गोल र सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएका थिए।
सन् २०१० यता नेपाली महिला राष्ट्रिय टिमले सार्कस्तरीय प्रतियोगितामा आठ पटक फाइनलमा स्थान बनाएको छ। काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिमले १२ वर्षमा आठौं पटक फाइनल खेल्दैछ।

खेलअघि नेपालका प्रशिक्षक कुमार थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्नेका लागि खेल्ने बताए। सोमबार साँझ साफले नयाँ च्याम्पियन पाउँदा नेपाल त्यो इतिहासमा आफ्नो नाम लेखाउन चाहन्छ। हुन त नेपालले सेमिफाइनलमा पाँचपटकको च्याम्पियन भारतलाई पराजित गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ।
घरेलु मैदानमै आयोजना भएको साफ च्याम्पियनसिपको ट्रफी घरमा राख्दै पहिलो पटक च्याम्पियन बनेर नेपाली दर्शक र समर्थकलाई खुशी दिने नेपालको चाहना छ । यस्तै बंगलादेश पनि फाइनल खेल्ने तयार छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।
प्रतियोगितामा दुवै टिम अपराजित छन्, दुवैले शतप्रशित जित निकालेका छन्। नेपालको पाँचौं फाइनल हो भने बंगलादेशको दोस्रो । भारतको साफमा २५ खेलको अपराजित यात्रालाई ब्रेक लगाएको बंगलादेशविरुद्ध खेल नेपाललाई त्यति सहज हुने छैन ।
पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर घरेलु समर्थकलाई खुशी दिने नेपाली टिमको लक्ष्य छ । बंगलादेशविरुद्ध सिनियर टिममा नेपाल अपराजित छ र त्यसलाई निरन्तरता दिन चाहन्छ ।











