Kathmandu Press

समानुपातिक उम्मेदवारको सूची बुझाउँदै राजनीतिक दल

काठमाडौं, असोज २ : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज र भोलि राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको सूची बुझाउन लागेका छन्।निर्वाचन आयोगले...
समानुपातिक उम्मेदवारको सूची बुझाउँदै राजनीतिक दल

काठमाडौं, असोज २ : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज र भोलि राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको सूची बुझाउन लागेका छन्।

निर्वाचन आयोगले आगामी चुनावका लागि आज र भोलि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय तोकेको छ। बन्दसूची बुझाउन दुई दिन समय तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित हुने व्यवस्था रहेको छ। त्यस्तै, प्रत्यक्षबाट १६५ जना निर्वाचित हुन्छन्।

राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची बुझाउँदा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यको उम्मेदवार दिनुपर्ने व्यवथा रहेको छ। जसमा ५० प्रतिशत महिला हुनुपर्छ। त्यस्तै, समावेशी सिद्धान्तको पनि पालना गर्नुपर्छ।

आयोगको केन्द्रीय कार्यालयमा समानुपातिकको बन्दसूची पेश गर्नुपर्छ। त्यसका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ।

बन्दसूचीमा रहेका उम्मेदवार अयोग्य भएमा सच्याउने समय असोज १९ गतेसम्म तोकिएको छ। त्यसपछि असोज २२ गते आयोगले उम्मेदवारको सूची सार्वजनिक गर्नेछ।

एउटै व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक उम्मेदवार बन्न पाइनेछैन। त्यस्तै, समानुपातिकमा रहेका व्यक्तिले प्रत्यक्षतर्फ पनि उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ।

प्रकाशित मिति: ०७:३४ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्