Kathmandu Press

ओलीका पालामा सम्झनलायक काम के भयाे, धरहरा र रानीपाेखरीकाे त मर्मत मात्र गरिएकाे हाे : खनाल

मनमोहन अधिकारीको नौ महिनाको सरकार हुँदा धेरै राम्रा काम भए पनि ओलीले तीन वर्ष सरकार चलाउँदा पनि उल्लेखनीय केही काम नभएको दाबी गरे।
ओलीका पालामा सम्झनलायक काम के भयाे, धरहरा र रानीपाेखरीकाे त मर्मत मात्र गरिएकाे हाे : खनाल

काठमाडौं, असाेज १ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले सम्झन लायक कुनै काम गर्न नसकेको बताएका छन्।

प्रतिनिधि सभाको आज बसेको अन्तिम बैठकमा बोल्दै उनले उनले ओलीको पालामा बहुमत प्राप्त सरकार भए पनि केही गर्न नसकेको आरोप लगाए।

मनमोहन अधिकारीको नौ महिनाको सरकार हुँदा धेरै राम्रा काम भए पनि ओलीले तीन वर्ष सरकार चलाउँदा पनि उल्लेखनीय केही काम नभएको दाबी गरे।

उनले ओलीको पालम धरहरा र रानीपोखरी बनाइएको नभएर मर्मत मात्र भएको बताए। ‘केपी ओलीले सम्झनलायक के गर्नु भयो र?’ उनले भने, ‘धरहरा बनाएँ, रानी पोखरी बनाएँ भन्नुहोला होइन, धरहरा भीमसेन थापा र रानीपोखरी प्रताप मल्ल बनाएका होलान् नि त? मर्मत गर्नेको नाम हुन्छ कि मर्मत गर्नेको?’

उनले शिक्षा, स्वास्थ्यलगायत कुनै क्षेत्रमा ओली सरकारले राम्रो काम गर्न नसकेको जिकिर गरे। एमालेको त्यतिबेलाको सरकारसँग देशका ७० प्रतिशत जनता क्रुद्ध रहेको उनको भनाइ थियो।

उनले एमालेकै कारण वर्तमान संसद प्रभावकारी हुन नसकेको आरोप पनि लगाए। ‘यो संसदबाट जनताको ठूलो अपेक्षा थियो । त्यसमाथि कम्युनिष्ट पार्टीको सरकार थियो, दुई कम्युनिष्ट पार्टीको एकताबाट बनेको पार्टीको सरकार थियो,’ उनले भने, ‘यसबाट ठुलै अपेक्षा थियो तर भएन । यसबाट देशका ७० प्रतिशत जनता त्यतिबेलाको सरकारसँग क्रुद्ध भएका छन्।’ 

उनले ओलीले एमालेले दुई तिहाइ ल्याउने छ भनेर बेकारमा हल्ला गरिरहेको बताए। दुई तिहाइ भनेको दुईतीनजना पो हो कि भनेर उनले ओलीको कटाक्ष पनि गरे। 

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्