Kathmandu Press

खुल्यो दसैंका लागि अग्रिम टिकट बुकिङ

अग्रिम टिकट बुकिङ भएसँगै नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीलगातका काउन्टरमा भीड लागेकाे छ।
खुल्यो दसैंका लागि अग्रिम टिकट बुकिङ

काठमाडाैं, असाेज १ : दसैं मनाउन घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक लाखौं व्यक्तिले काठमाडौं छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दसैंअगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आइएको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा गत भदौ २२ गते बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए। नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीलगायत स्थानबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको उनले बताए।

अध्यक्ष  स्वाँरकाअनुसार पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायत स्थानमा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

यातायात व्यवसायीले भने देशका मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोधसमेत गरेका थिए ।

यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले दसैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि बस टिकट काउण्टर थप गरिएको बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्ष्य गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उक्त कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर निर्धारका साथै यात्रुलाई गन्तव्यस्थलसम्म सहजै पुग्न समन्वय गरिने बताए।

प्रकाशित मिति: १०:३५ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्