दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला
काठमाडौं, असोज १ : दशैंमा काठमाडौं बाहिर जाने यात्रुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ।
यातायात व्यवस्था विभागको निर्णयअनुसार, लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। आज बिहान ७ बजेदेखि टिकट बुकिङ खुला गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।
टिकट बुकिङ खुलेसँगै बिहानैदेखि नयाँ वस पार्कका टिकट काट्न शुरु भएको छ। बिहानैदेखि सर्वसाधारण टिकट काट्न बसपार्क पुगेका छन्।
गत भदौ २२ गतेको बसेको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरको बैठकले अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो। त्यहिअनुसार, आज बिहानबाट अग्रिम टिकट काट्न शुरु गरिएको हो।
अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्न विभागले निर्देशन दिएको छ। अग्रिम टिकट बुकिङ गर्दा कोभिड–१९ महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न महासंघले आग्रह गरेको छ।











