११ र १२ मा अध्यापनरत देशभरिका शिक्षकद्वारा आज पेनडाउन
काठमाडाैं, भदाै ३० : कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पेनडाउन गरेका छन्।माध्यमिक विद्यालय शिक्षक युनियन...
काठमाडाैं, भदाै ३० : कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पेनडाउन गरेका छन्।
माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को अगुवाइमा भएको पेनडाउनका कारण सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको छ। सामुदायिक माविअन्तर्गत कक्षा ११ र १२ करिब ७ लाख विद्यार्थी अध्ययनरत छन्।
कक्षा ११ र १२ मा ३० वर्षदेखि स्थायी शिक्षकको दरबन्दी शून्य छ। विद्यालयमा आधारभूत, निम्न माध्यमिक तथा ९ र १० कक्षाको माध्यमिक तहका साथै विश्वविद्यालय तहमा मात्र स्थायी शिक्षकको व्यवस्था गरेर कक्षा ११ र १२ कक्षालाई उपेक्षा र विभेद गरेर विद्यार्थीको शैक्षिक गुणस्तर कमजोर बनाउने र कार्यरत शिक्षकको भविष्य अनिश्चित तुल्याउने कार्य सरकारले गरेको भन्दै शिक्षकहरू पेनडाउनमा उत्रिएको हिस्टुनले बताएको छ।
कतिपय शिक्षक बिसाैं वर्ष पढाएर खाली हात बिदा भएकाे स्थिति रहेकाे र कतिपय पीडादायी अवस्थामा अध्यापनरत रहेकाे हिस्टुनकाे भनाइ छ।
कक्षा ११ र १२ कक्षाका लागि अनुदानका ४ हजार र अस्थायी दरबन्दीका २ हजार शिक्षक कार्यरत छन्। शिक्षक अभावका कारण वर्षौंदेखि कार्यरत आंशिक शिक्षकलाई न्यून पारिश्रमिकमा दैनिक ५ देखि ६ पिरियडसम्म पढाउन लगाउने गरिएको हिस्टुनले जिकिर गरेको छ।
शिक्षक सेवा आयोगबाट कक्षा ११ र १२ का लागि स्थायी दरबन्दीको विज्ञापन खुलाउनुपर्ने, कार्यरत शिक्षकलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाको मौका दिनुपर्ने, थप ७ हजार ८ सय शिक्षकको दरबन्दी सिर्जना गरी तत्कालका लागि शिक्षकको अस्थायी पदस्थापन गर्नुपर्नेलगायत माग हिस्टुनले राख्दै आएको छ।
कक्षा ११ र १२ कक्षामा पढाउने आंशिक, अस्थायी र अनुदान शिक्षकको दैनिक पिरियड र मर्यादाक्रम निर्धारण गर्नुपर्ने, शिक्षक अनुमतिपत्रको अन्योल हटाउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
सरकारले तत्काल माग सुनुवाइ नगरे तिहारलगत्तै शिक्षकले पेनडाउन गरी राजधानीकेन्द्रित कडा आन्दोलन गर्ने हिस्टुनले बताएको छ।










