Kathmandu Press

माओवादी कमजोर भयो भने लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न सक्छ : प्रचण्ड 

प्रचण्डले परिवर्तनको बाहक माओवादी भएका कारण यसको रक्षा पनि माअ‍ोवादीले नै गर्नुपर्ने बताए ।
माओवादी कमजोर भयो भने लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न सक्छ : प्रचण्ड 

काठमाडौं, भदौ ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ माओवादी कमजोर हुँदा लामो संघर्षपछि प्राप्त भएको उपलब्धी गुम्न सक्ने बताएका छन् ।

बिहीबार माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिसभामा अध्यष प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध सुमधुर हुन सकेन भने प्राप्त संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक सहभागिता आदि उपलब्धी उल्टिन सक्ने खतरा उत्पन्न हुन सक्ने बताएका हुन् ।

उनले यदी माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान पनि सम्भव नभएको पनि बताए । ‘समावेशी, समानुपातिक लोकतन्त्र पनि सम्भव थिएन,’ उनले भने,‘यो कुरा नेपालको राजनीति र इतिहासमा स्थापित सत्य हो, जसलाई जतिसुकै नकार्न खोजिएपनि इतिहासले यसलाई स्वीकार गर्दैन।’ 

अध्यक्ष प्रचण्डले परिवर्तनको बाहक माओवादी भएका कारण यसको रक्षा पनि माअ‍ोवादीले नै गर्नुपर्ने बताए । ‘माओवादी जनयुद्ध र यसको जगमा सम्पन्न जनआन्दोलनबाट नै परिवर्तन स्थापित भएको हो,’ प्रचण्डले भने,‘ माओवजादी पार्टी कमजोर भयो भने र माओवादी पार्टी र जनताबीचको सम्बन्ध सुदृढ र सुमधुर हुन सकेन भने कुनैपनि बेला त्यत्रो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी उल्टाउने षड्यन्त्र हुनसक्छ।’

प्रचण्डले यस्तो प्रयास गत साल नै भएको बताए । त्यसबेला वाम आन्दोलनलाई एकतावद्ध गरेर देशमा राजनीतिक स्थायित्व कायम गर्दै समाजवादको महान् यात्रा सुरु गर्ने सपना देखेको प्रचण्डले बताए । ‘तर,वामपन्थी आन्दोलनभित्रकै एउटा पूर्वाग्रही, व्यक्तिवादी, अराजकतावादी र अत्यन्तै आत्मकेन्द्रीत प्रवृत्तिका कारण देश झण्डैझण्डै दुर्घटनामा जाने खतरा पैदा भइसकेको थियो ।’ त्यतिबेला माअ‍ोवादीकै नेतृत्वमा लाखौ जनताको सहयोगबाट प्रतिगमन परास्त भएको प्रचण्डले बताए।  

प्रचण्डले आगामी संसदीय निर्वाचनबाट  माओवादीलाई बलियो बनाउने प्रयास हुने बताए । ‘स्थानीय तहको निर्वाचनबाट शिक्षा लिँदै यो ब्याटलमा हामीले आफूलाई एउटा फौजको रुपमा अगाडि बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने । 


 

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्