Kathmandu Press

न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

काठमाडौं, मंसिर १९ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजनाको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको ....

न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

काठमाडौं, मंसिर १९ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजनाको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

साथै सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी सो क्षेत्रको आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढङ्गले नगर्दा स्थानीयवासीमा त्यसले आक्रोश उत्पन्न गरेको बताएका छन्।

सो भेगका बासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टि एवं आक्रोश नजन्मने विज्ञप्तिमा जनाइएको छ।
“मनोगत ढङ्गले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पुर्यापएको छ नै त्यसकाविरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी बाध्य भएका छन्”, विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा स्वर्णीम वाग्लेको संयोजकत्वको कार्यदलको अध्ययनको निष्कर्षका आधारमा एक हजार २०० मेगावाटको सो परियोजना आफैंले निर्माण गर्ने निर्णय गरेको थियो। 

“बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि डिजेल र पेट्रोल खरिदमा प्रतिलिटर रु पाँचका दरले उपभोक्तामार्फत रकम सङ्कलन गर्दा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको छ तर शान्ति, संविधान र निर्वाचनपछि सो परियोजना निर्माणको विषयले तीव्र गति लिने अपेक्षाविपरीत वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एकपछि अर्को घटनाका साथ अन्योलमा पर्दै गएको छ। न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको छ”, प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

विकास परियोजना सञ्चालन गर्न स्थानीयवासीलाई विश्वासमा लिनुपर्नेमा मंसिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउनेतर्फ लक्षित देखिएको कांग्रेसको आरोप छ।

मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई कांग्रेसले आग्रह गरेको छ।
 

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, मंसिर १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्