Kathmandu Press

गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत

गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत

जनकपुर, भदाै २९ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन्। 

बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उनले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताए। 

मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरु लगानी गर्न हिचकिचाइरहेको समेत बताउनुभयो । उद्योग स्थापना र दर्ता प्रक्रियासमेत असहज हुनु र कामअनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उनको भनाइ थियो।

कार्यक्रममा मधेश सरकारका उद्योगमन्त्री सत्रुधन महतोले मधेशको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योगसहितका क्षेत्रका लागि चाहिने दक्षजनशक्ति आपूर्तिका लागि विभिन्न निकाय मिलेर एउटा बजार केन्द्र खोल्नुपर्ने बताए। 

जनकपुरधाम उमहानगरपालिकाका प्रमुख मनोजकुमार साह तथा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले जनशक्तिको अभावमा रोजगारको आधार तयार नहुने बताउँदै दक्ष जनशक्तिका लागि पाठ्यक्रम र उचित तालिमहरुमा जोड दिनुपर्ने धारणा राखे। 

कार्यक्रममा जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहले कृषि, पर्यटन, उत्पादन र श्रमका लागि जनशक्तिसहितको स्रोतहरु सदुपयोग गर्न सकिए देशको विकास र समृद्धि सहज हुने धारणा राखे। 

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्