एलिजाबेथ द्वितीयाको अन्त्यष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाने

काठमाडौं, भदौ २९ : बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्यष्टिमा नेपालबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहभागिता जनाउने भएका छन्। अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
महारानी एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ। एलिजाबेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो।
एलिजाबेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन्। भारतबाट भने राष्ट्रपति द्रौपदी मुर्मू महारानी एलिजाबेथको अन्त्येष्टिमा जाने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो। नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
एलिजाबेथ द्वितीयाको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्ति र शुभेच्छुकहरुले काठमाडौंस्थित बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका थिए।
एलिजाबेथ द्वितीया नेपाललाई निकै माया गर्थिन्। उनी नेपाली ब्रिटिस गोर्खाकै सुरक्षा घेरामा हुर्केकी हुन्। महारानी एलिजाबेथले राजा महेन्द्रकाे पालामा सन् १९६१ र राजा वीरेन्द्रकाे पालामा १९८६ मा नेपाल भ्रमण गरेकी थिइन्।











