कतिपय अभियोग साबित भइसके, महाभियोग टुंगोमा पुर्याऊ : न्यायाधीश फोरम
फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग नसकिने बताएको छ।
काठमाडौं, भदौ २९ : पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगका सन्दर्भमा उनीमाथिको अभियोग साबित भई कसुर प्रमाणित भइसकेको बताएको छ।
फोरमको बैठकपछि संस्थाका अध्यक्ष एवं सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले एक विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेका हुन्। जबराविरुद्धको बयान सकिएलगत्तै बुधबार बिहान पूर्वन्यायाधीश फोरमको बैठक बसेको थियो। फोरममा पूर्वप्रधानन्यायाधीश र न्यायाधीश आबद्ध छन्।
फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग नसकिने बताएको छ। कतिपय अभियोग साबित भई कसुर प्रमाणित भइरहेको अवस्थामा चुनावपछि आउने प्रतिनिधिसभाले महाभियोगलाई स्वीकार गरेर जबराको विषयमा टुंगो लगाउनुपर्ने धारणा फोरमको छ।
संविधानको धारा १०१ को उपधारा (२) बमोजिम राणाउपर प्रारम्भ भएको महाभियोगको कारबाही फौजदारी अभियोगको विषयवस्तु भएको ठहर न्यायाधीश समाजले गरेको छ। बयानबाट राणाउपरको कतिपय अभियोगमा साबित भई कसुर प्रमाणित भइरहेको भनाइ फोरमको छ। यस्तो अवस्थामा संविधानको धारा १०१ को उपधारा (८) को संवैधानिक व्यवस्था र भावना वमोजिम कसुरको परिणाम र दायित्व जीवित रहने ठहर समेत न्यायाधीश फोरमको छ।
राणाविरुद्धको छानविन न्यायिक प्रक्रिया बमोजिम गरिनुपर्ने भएका कारण संसदमा समय अपुग भएको अबस्थामा हतारमा प्रतिवेदन पेश गर्न उपयुक्त नहुने सुझाव पनि फोरमले दिएको छ।
न्यायाधीश फोरमले भनेको छ, ‘संवैधानिक पद्धति र परम्परा अनुसार आगामी संसदले समेत सोको स्वामित्व ग्रहरण गरी आफ्नो छानबिन अन्तिम निष्कर्षमा पुर्याउनुपर्ने यस फोरमको स्पष्ट धारणा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। समाजले भ्रम फैलाउने कार्यप्रति खेद प्रकट गरेको छ।










